Nepal WASH Blog Water, Sanitation and Hygiene (WASH) & Development in Nepal

May 18, 2012

पूर्ण खानेपानी र सरसफाइयुक्त गाविस: उपलब्धीको पहिचान र दिगोपन

Filed under: Advocacy,NEWAH,Nepal,Open defecation free,Universal WASH coverage — Anita Pradhan @ 9:00 am

“सफा राख्छौ घरआँगन सफा बाटोघाटो, खुल्ला दिसामुक्त पार्र्यौ तिल्पुङको माटो, गरे के पो हुन्न र ! स्वर्ग बन्छ यही धर्ती, बिचार गरौं सरसर्ती ” सिन्धुली बजारदेखि ५४ किमि पूर्वमा पर्ने बाहुन तिल्पुङ गाविसका जुनु र जमुनाले गाएको यो गीतको अंश सुन्दा निकै घत लाग्यो । तिन बर्ष पहिले खुल्ला ठाँउमा दिसा गर्ने यी दुवै किशोरीले बडो गर्व र उल्लासका साथ घोषणा समारोहमा यो गीत गाएका थिए ।

बि स २०६९ बैशाख १५ गते बाहुन तिल्पुङ गाविसको वडा नं ३ तिल्पुङचौकीको बैंकटेश्वर उच्च माविमा गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा आयोजित “पूर्ण खानेपानी सरसफाइयुक्त तथा खुल्ला दिसामुक्त गाविस घोषणा कार्यक्रम” मा भाग लिईरहदा बिस २०६६ मा खुल्ला दिसाको विरुद्ध समुदायलाई जागरण ल्याउदाको क्षण स्मरण भयो ।  आफ्नै क्षेत्रका संविधानसभाका सभासद माननिय बिषमलाल अधिकारीलाई प्रमुख अथिति बनाएर जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, राजनीतिक दलहरु, वाटर एड नेपाल, नेवा, ग्रामीण महिला चेतना केन्द्र, छिमेकी गाविसका बुद्धिजिवी एवं सचिवहरुलाई डाकेर  मनाइएको सभ्य र भब्य घोषणा सभामा गौरवान्वित भएर खुशीयाली मनाईरहेका बाहुन तिल्पुङबासी देख्दा मैले अदभूत शान्ति र खुशी मिलिरहेको अनुभव गरे। नारा लगाउदै प्लेकार्ड र ब्यानरको साथमा घोषणा कार्यक्रममा आएका तिल्पुङबासीहरु पहिलेझै नारा लगाउदा शर्माएका पनि थिएनन् । बडो फूर्तिका साथ “खुल्ला दिसामुक्त भो, अब हामीलाई ढुक्क भो”, “खुल्ला दिसा गर्नेलाई – कारवाही गरौ” जस्ता नाराहरु लगाउदै घोषणा समारोहमा आएका थिए । पहिले हाम्रो गाँउघरमा चर्पी छैन, खुल्ला ठाँउमा दिसा गर्छौ भन्नु पर्दा उनिहरुका  शिर निहुरिएका थिए । तर अहिले खुल्ला दिसामुक्त गाविस बनाएर गर्वका साथ शीर उँचो पारेर बुलन्द आवाजमा उनिहरुले अरुलाई खुल्ला दिसामुक्त समुदाय बनाएर बाँच्न आव्हान गरिरहेका थिए ।

खुल्ला दिसामुक्त अभियान अन्तर्गत २०६६ साल साउन ९ गते बाहुन तिल्पुङ गाविसको वडा नं २ तिल्पुङडाँडामा पहिलो पटक मैले जागृतीमूलक बिधिहरुको प्रयोग गरेको थिए । खानेपानी तथा उपभोक्ता समिति र सामुदायिक स्वास्थ्य तथा सरसफाइ स्वयम् सेवक तालिमको लगत्तै आम भेला गरेर जागृतीमूलक बिधिहरुको प्रयोग गरिएको थियो । शरमपूर्ण हिडाई, दिसाको गणना, दिसाको बहावट, दिसा खाइने महशुसीकरण, दिसा खाएर लाग्ने रोगहरुबाट औषधी उपचारमा हुने खर्चको हिसाब, महिलाको आत्मसम्मान र पेशाको सम्मान जस्ता जागृतीमूलक बिधिको प्रयोगले उनिहरुको मनमा छोएको थियो र मष्तिष्कलाई सोच्न बाध्य बनाएको थियो । खेतबारीको कान्लामुनि, जंगल, खोल्सा र बाटो छेउ दिसा गर्दै आएका तिल्पुङडाँडाबासीहरु,मेडिकल सञ्चालन गर्दै आएका उपभोक्ता समितिका अध्यक्ष टंकनाथ अधिकारी र बिभिन्न प्रतिष्ठित पेशा र पदमा आवद्ध ब्यक्तिहरु सबैको शीर लाजले निहुरिएको थियो । खुल्ला दिसा गर्नु सामाजिक अपराध हो, महिलाको आत्मसम्मानको अवज्ञा गर्नु हो, दिसा खाइने अवस्थामा बाँच्नु सर्वश्रेष्ठ प्राणी भनेर गर्व गर्ने मानिसलाई नसुहाउने अवस्था हो भन्ने कुराको महशुस गरेर सामुहिक रुपमा उनिहरुले साउन महिनाभित्रै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरि सरसफाइमा नमुना बन्ने संकल्प गरि उत्तिखेरै “खुल्ला दिसा- बन्द गरौ, गु खानबाट- बचौ बचौं” भन्ने जस्ता नारा लगाएर हिडेका थिए । नारा लगाउदा खेरि कतिपय मानिसहरु भन्दा भन्दै लाजले हाँसिरहेका थिए ।

साउन ११ गते वडा नं १ गहतेमा नेवाकै गगन थापा र मैले मिलेर जागृतीमूलक बिधीहरुको प्रयोग गर्दा शिक्षिका गंगा लुङ्गेलीलाई बारीको कान्लामुनि दिसा गर्दै आएकोमा लाज मात्र लागेन शिक्षित भएर पनि बानी परिवर्तन नगरेकोमा पछुतो भयो । लाजले रातो अनुहार पारेकी गंगा र उनको समुदायका मानिसहरुले आपसमा सल्लाह गरेर दश दिनमै खुल्ला दिसामुक्त गाँउ बनाएर नेपालमै कम समयमा खुदिमु हुने गाँउ बनाउने संकल्प लिए । “खुल्ला दिसा -नगरौ “, “चर्पी बनाएर- प्रयोग गरौं”, “खुल्ला दिसामुक्त- घोषणा गरौ”, “गहतेको – इज्जत बढाऔ” भन्ने जस्ता नारा लगाएर उनिहरुले गाँउ परिक्रमा गरेका थिए । घर घरमा र बिद्यालयमा सुरक्षित कच्चि चर्पी बनाएर प्रतिबद्धता जनाए अनुसार साउनको २२ गते खुल्लादिसामुक्त घोषणा गर्न गहतेबासी सफल भए । जागृतीमूलक बिधिहरुको प्रयोग गरिएको दश दिनभित्र खुल्ला दिसामुक्त क्षेत्र घोषित गहते नै सोही बर्षको चैत्रमा बाहुन तिल्पुङ गाविसको पहिलो पूर्ण सरसफाइयुक्त समुदाय बन्न सफल भएको थियो ।

बाहुन तिल्पुङ गाविसमा खानेपानी, सरसफाइ र स्वच्छतामा सबैको पहुँच हुने गरि वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल स्वास्थ्यको लागि पानी (नेवा) मध्य तथा पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले तिन चरणमा ९ वटा खानेपानी स्वास्थ्य तथा सरसफाइ आयोजना सञ्चालन गरेको हो । उक्त आयोजनाहरु सञ्चालन गर्दा गाविसले दश लाख असी हजार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुलीले पचास हजार चार सय रुपैया उपलब्ध गराएको थियो । ग्रामीण महिला चेतना केन्द्र सिन्धुली र गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिसंग साझेदारिता गरि आयोजना कार्यान्वयन गरिएको हो।

५ सय ८७ घरधुरी र ३ हजार ७ सय ३२ जनसंख्या रहेको बाहुन तिल्पुङमा हाल गाँउमै बसोबास गरिरहेका ५ सय ६७ घरधुरीले नै सुधारिएको चर्पी प्रयोग गरेका छन् । नेपाल सरकारको मापदण्ड बमोजिमको सुरक्षित खानेपानी प्रति खेप १५ मिनेट समयभित्रै उपलब्ध हुने गरि नेवा मार्फत बनेका १ सय ४६ धारा, ३ वटा ट्यांकी सहितको धारा, १६ वटा कुवा संरक्षण र फण्डबोर्ड मार्फत १६ वटा धारा निर्माण गरिएकाले खानेपानीको समस्या तथा दुषित पानी पिउनु पर्ने अवस्थाबाट बाहनुतिल्पुङ गाविसबासीले छुट्कारा पाएका छन् । एक उच्च मावि सहितका ९ वटै बिद्यालयमा खानेपानी र शौचालयको प्रबन्ध गरिएकोले २ हजार १ सय २९ बिद्यार्थी र ७६ शिक्षक गरि कुल २ हजार २ सय पाँच जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

बि स २०६५ सालमा ८७ प्रतिशतले अब्यवस्थित अस्थायी पाइप र १३ प्रतिशतले असुरक्षित कुवा र खोलाको पानी पिउने गरेको जल उपयोग गुरुयोजना २०६६ मा उल्लेख छ । गाविसका अनुसार चर्पी प्रयोग गर्ने घरसंख्या ४ थियो । हाल समुदायमा एकल ५ सय ५७ र स‌युक्त ५ वटा गरि ५ सय ६२ वटा सुधारिएको पक्की चर्पी, ३ सय ७८ वटा भाडा सुकाउने चाङ ३ सय ९६ वटा भाडा माझ्ने पक्की जुठेल्ना र १ सय ६२ वटा टुटीसहितको पानी राख्ने भाडो प्रयोगमा आएका छन् । हरेक मानिसहरुले जोखिमपूर्ण अबस्थाहरुमा साबुन पानीले हात धुने , सफा ताजा खानेकुरा खाने, ब्यक्तिगत र घरायसी सरसफाइमा ध्यान दिने गरेका छन् । फोहोर फाल्ने तथा जलाउने खाडलहरु सार्वजनिक स्थलहरुमा समेत निर्माण गरिएका छन् । घरेलु स्तर र समुदायमा निस्कने फोहोरमैलाको उचित ब्यवस्थापन गरिएकाले गाँउ सफा र स्वच्छ भएको छ । स्वच्छता र सरसफाइ प्रवर्धनका लागि समुदाय तथा बिद्यालयमा स्वास्थ्य तथा सरसफाइ चौतारी, सरसफाइ अभियानहरु जस्ता गतिबिधिहरु नियमितरुपमा सञ्चालन गरिएका थिए ।  समुदाय स्तरमा नै नियमित रुपमा अनुगमन गर्ने कार्य समेत कर्मचारी र समितिबाट गरिएको थियो । जस्को फलस्वरुप प्रगतिउन्मुख कार्य गर्न गराउन सहज भएको थियो ।

परिवर्तन सहजै प्राप्त हुदैन त्यसमा पनि सदियौ देखि उपेक्षित सरसफाइलाई आत्मसात गरि बानी ब्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु चानचुने बिषय होइन् । जुनु र जमुनाले घोषणा समारोहमा गाएको गीतको अंश “भोकै तिर्खै कर्मचारी खटे अहोरात्र, तिन बर्षमै सुन्दर तिल्पुङ कहाँ हुन्थ्यो नत्र” ले आयोजना सञ्चालनमा गरिएको मिहेनत उल्लेख गरेको छ । तिन बर्षको अथक परिश्रमबाट प्राप्त उपलब्धीले बाहुन तिल्पुङबासीको जीवन सहज र प्रतिष्ठित बनेको छ । घोषणा समारोहमा पूर्ण सरसफाइको निरन्तरता र खानेपानी प्रणालीको स्याहार संभार गर्ने प्रतिबद्धता उनिहरुले सामूहिक रुपमा गरेका छन् यद्यपी दीगोपनको प्रश्नहरु भने तेर्सिएका छन्। अब कर्मचारीहरु त्यहाँ कार्यरत छैनन् तर तालिम प्राप्त स्वास्थ्य तथा सरसफाइ सहजकर्ताहरु, सामुदायिक स्वास्थ्य तथा सरसफाइ स्वयम् सेवक, बाल क्लब, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु, मर्मत कार्यकर्ताहरुले दिगोपनका लागि निरन्तर ध्यान दिनु आवश्यक छ । यिनै तालिम प्राप्त जनशक्तीहरुको सहयोगमा गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले दिगोपनको प्रमुख जिम्मेवारी बहन गरेको खण्डमा उपलब्धीको स्तरोन्नती र दिगोपन संभव छ । तालिममा बताएझै गरि नियमित रुपमा बैठक बस्ने, खानेपानी मर्मत कोष संकलन गर्ने, मर्मत कार्यकर्ताद्वारा नियमित रुपमा खानेपानी प्रणालीको रेखदेख गर्ने, सरसफाइ आचारसंहिताको पालना भए नभएको अनुगमन गर्ने र कार्यान्वयन गराउने, बचत तथा मर्मत कोषलाई आयआर्जनमूलक गतिबिधिमा उपयोग गर्ने जस्ता गतिबिधिहरु संचालन गरेको खण्डमा खानेपानी सरसफाइ र स्वच्छताको निरन्तरता र दिगोपन हुने सुनिश्चित छ ।

बाहुन तिल्पुङ नेपालको दोश्रो पूर्ण खानेपानी र सरसफाइयुक्त गाविस हो । यस अघि २०६८ बैशाख १० गते गोरखाको घ्याच्चोक गाविस घोषणा भएको थियो । नेपाल सरकारको सन २०१७ सम्ममा सबै नेपालीलाई सुरक्षित खानेपानी र आधारभूत सरसफाइको सुबिधा उपलब्ध गराउने लक्ष्यलाई हासिल गर्नका लागि गाविस पुरै समेटिने गरि सुरक्षित खानेपानी उपलब्ध गराउने, सरसफाइका सुबिधाहरुको निर्मार्ण र प्रयोग सबैले गर्ने र स्वस्थकर बानी ब्यवहार अपनाउने जस्ता उपलब्धी हासिल हुने गरि कार्यक्रम तथा गतिबिधिहरु सञ्चालन गर्नु अति आवश्यक छ।

नेपालमा सरसफाइ गुरु योजना आउनुभन्दा अगावै कच्ची चर्पी बनाएर खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका कतिपय गाविसहरु हाल खुल्ला दिसायुक्त अवस्थामा भेटिन्छन् । यसो हुनुमा स्थानीय निकाय र समुदाय नै बढी जिम्मेवार छ भन्नुमा अतिसयोक्ति नहोला । सन २०१७ सम्ममा नेपाललाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्यलाई सरकारको प्रतिनिधित्व गर्ने स्थानीय स्तरका निकायहरुले नै बिनियोजित बजेट शिर्षकको “ख” मा खानेपानी र खुल्ला दिसामुक्त अभियानका लागि बजेट छुट्याउने गरेको कमै पाइन्छ । यसो हुनुमा राजनितिक दलले वजेट छुट्याउन मानेन भन्ने जवाफ पाइन्छ । के राजनीतिक दलहरु जंगली युगमा खुल्ला रुपमा दिसा गर्ने मानवको ब्यवहारलाई एक्काइसौ शताब्दीको मानवले पनि अंगालिरहेकोलाई विकास मान्छन् ? के राजनितिक दलहरु मानिसको चेतना र ब्यवहारको विकासलाई विकास नमानेर केवल सडक बनाउने बिद्यालयका लागि बजेट दिने जस्ता कामलाई मात्र विकास मान्छन ? महात्मा गान्धीका अनुसार “स्वतन्त्रता भन्दा सरसफाइ महत्वपूर्ण हुन्छ” त्यसै भनिएको पक्कै होइन् । अन्य विकास र अधिकार भन्दा महत्वपूर्ण मानिसको स्वास्थ्य र इज्जत हो । पशुले झै लाजै नमानी खुल्ला ठाँउमा दिसा गर्ने, अनि त्यही दिसामा बसेर आएको झिंगा संगसंगै मिलेर खानेकुरा खाने, घर नजिक दिसा हुँदा र गन्ध आउदा घिन पनि नमान्ने, बर्षेनी झाडापखाला जन्य रोगबाट बिरामी भएर अरबौ रुपैया उपचारमा खर्च गर्ने गराउने र हजारौ बालबालिकाहरुलाई मृत्युको मुखमा पुर्र्याउन जिम्मेवार बनाउने दिसालाई खुल्ला छोडेर  कतिन्जेल मानिसलाई सामाजिक अपराधी बन्न छुट दिईरहने ? यस्तो सामाजिक अपराध गर्ने छुट कसैलाई पनि हुनु हुदैन ।

सरसफाइ गुरुयोजना लागू गरि खुल्ला दिसामुक्त अभियान सञ्चालन गर्नु गराउनु सबैको दायित्व हो । विगतमा राजनीतिक दलहरुले मात्र होइन सबैले महत्व बुझेपछि ढिलो चाडो सघाएकै छन् ।  खुल्ला दिसामुक्त अभियानमा कोही बाधक बन्छन् भने उनिहरुमा रहेको अचेतना नै प्रमुख कारण  हो । त्यसैले सरसफाइको महत्व र सरकारले लिएको लक्ष्य सर्वसाधारण सबैलाई बुझाएर सरसफाइ अभियान कार्यान्वयन गर्ने तर्फ लाग्न जरुरी छ । सरसफाइ स्वास्थ्य, विकास र प्रतिष्ठाको आधार हो । अरुले भन्ला र गरौला वा अरुले आएर गरिदिए हुन्थ्यो भन्ने सोचेर कतिन्जेल खुल्ला दिसा गर्ने संस्कारलाई निरन्तरता दिने ? जति सक्दो छिटो खुल्ला दिसामुक्त सफा र सभ्य समाजको निर्माण गर्न सबै अग्रसर हुन जरुरी छ । “कुकुरले चर्पी बनाएर प्रयोग गर्न सक्दैन तर तपाईले सक्नु हुन्छ” भन्ने मानिस र कुकुरले खुल्ला दिसा गरेको पोष्टरले पनि मानिसलाई खुल्ला दिसा गर्नु लाज र घृणाको समेत आभास नहुने पशुले गर्ने कार्य हो भन्ने मनन् गरि उक्त प्रचलनलाई छोड्न  झक्झक्याउने प्रयाश गरेको छ ।

खानेपानी तथा ढल निकास विभागले हाल खुल्ला दिसामुक्त गाविस, नगरपालिका र जिल्लाको नाम मात्र तथ्यांकमा राख्ने गरेको पाइन्छ। यसको साथसाथै सुरक्षित खानेपानीको सुबिधामा पहुँच भएको पूर्ण सरसफाइयुक्त गाविस, नगरपालिका तथा जिल्लाको तथ्याँक राख्नु पर्ने महशुस गरिएको छ । यसो हुन सकेको खण्डमा खानेपानी र सरसफाइको आधारभूत सुबिधामा सबैको पहुँच भएका घ्याच्चोक र बाहुन तिल्पुङ गाविसले खुल्ला दिसामुक्तको लिष्टमा मात्र सिमित नभएर गरिमामय फरक पहिचान पाउने थिए । अनि ऐतिहासिक उपलब्धीको जानकारी आममानिस र अन्य संघसंस्थामा समेत हुने थियो र अब यसै प्रकारको घोषणा गर्नेले पनि कतिऔं स्थानमा घोषणा हुदैंछ भन्ने जानकारी पाउने थिए। नेपालमै पहिलो पटक बिस २०६२ साल भदौ १४ गते आधारभूत सरसफाइ तथा खुल्ला दिसामुक्त गाविस घोषणा भएको बाग्लुङको अर्जेवा गाविस हो । यद्यपी प्रयाप्त सूचनाको अभावमा त्यसको करिब दुई बर्ष पछि नवलपरासीको प्रगतिनगर गाविसलाई नेपालको पहिलो खुल्ला दिसामुक्त गाविस भनेरै घोषणा गरिए झै अन्य गाविसले पनि घ्याच्चोक र बाहुन तिल्पुङको बारेमा जानकारी नपाएर त्यस्तै त्रुटी नहोला भन्न कसरी सकिएला र ? यस सम्बन्धमा बिभागको ध्यान जावोस् ।

The post is written by Ms Bishnu Dawadi, Advocacy and Capacity Building Supervisor, Nepal Water for Health (NEWAH), Central and Western Region Office (CWRO), Chitwan, Nepal. Contact – bdawadi@newah.org.np and binu.dawadi@gmail.com

No Comments »

No comments yet.

RSS feed for comments on this post. TrackBack URL

Leave a comment


CAPTCHA Image

This blog was created by WaterAid under the creative commons licence